साइको

साइको


शिशिरको सिरेटोले बाहिरी काठमाडौंलाई चिस्याइरहेको थियो । तर, रंगमञ्चभित्रको बन्द प्रेक्ष्यालयमा निरन्तर ‘वार्म-अप’ र स्टेजको लाइटले ज्यान बाफिलो थियो । नाटकको रिहर्सल सकाएर सरासर रुम फर्किएँ ।

दिनभरिको अभ्यास, को-आर्टिस्टको ढिपी र निर्देशकको अनेक निर्देशनले मन त्यसै भारी थियो । खाना पकाउन जाँगर चलेन । तातोपानी उमाल्न बसालें । फेसबुक ‘लग इन’ गरें । स्टाटस राखें, ‘बलेको आगो सबैले ताप्छन् ।’

‘निभेको आगो कसले ताप्छ र !’

केहीछिनमै उनको ‘हाहा रियाक्ट’सहित पहिलो कमेन्ट आयो । मलाई त्यसमाथि टिप्पणी गर्न मन लागेन  । केवल ‘एंग्री रियाक्ट’ गरेर ग्यास बन्द गरें  । स्टिलको गिलासमा तातो पानी खन्याएर टेबलमा राखें । ओछ्यानमा पल्टिएँ । उनको कमेन्ट दोहोर्‍याएर पढें । उदेक लागेर आयो । मनमनै रिस उठ्यो । इनबक्समा म्यासेज गरें- ‘निभिसकेको आगो म ताप्दैछु ।’

उनले मेरो पोष्टमा, त्यो पहिलोपल्ट कमेन्ट गरेकी थिइनन् । कुराकानी पनि खासै भएको थिएन । मैले एकचोटी उनको जन्मदिनमा शुभकामना दिँदा प्रतिउत्तरमा थ्याङक्युको छोटकरी ‘टीक्यू’ मात्र लेखेकी थिइनन् । हाम्रो ‘चिटच्याट’ यत्ति हो भन्दा हुन्छ ! हामी फगत फेसबुके साथी थियौं ।

उनी अनलाइनमै रैछिन्  । तुरुन्तै म्यासेज सिन भयो तर उत्तर दिइनन् । मैले पुनः दुईवटा प्रश्न चिन्ह पठाएँ ।

‘सरी केही बुझिनँ’,  उनको उत्तर आयो ।

‘आफू नमरी स्वर्ग देखिन्न’, मैले लेखी पठाएँ ।

‘छ्या… रंगकर्मीको भाषा बुझ्नै गाह्रो’, उनको रिप्लाई आयो । गिलासको पानी अझै मनतातो थियो । एक घुट्की पिएँ अनि सिरक ओढेर गुटमुटिएँ ।

मोबाइलमा म्यासेजको टोन बज्यो । हत्तपत हेरिहालें  ।

‘आजभोलि के नाटक चल्दैछ तपाईंको ?’

जे होस् मेरो बारेमा थोरबहुत भेउ रहेछ उनलाई ।

‘योनीश्रावमा छट्पटिएका पशुहरू’

मैले नाटकको शीर्षक हतारमा लेखिदिएँ ।  उनले इमोजीसहित पठाइन्, ‘छ्या… कस्तो टाइटल ?’

म शब्द-संकटमा परें । उनले  पुनः प्रश्न गरिन् ‘आम्मा…टाइटल नै यस्तो छ ! कथावस्तु कस्तो होला ? ‘

‘यौनका लागि छटपटिएका मनुपिशाचहरु र त्यसले हाम्रो समाज र मनोविज्ञानमा पार्ने प्रभाव’,  लेखी पठाएँ ।

उनले जानीजानी हेरिनन् अथवा हेर्न ढिलो गरिन् । उनको जवाफ पर्खिएँ तर उताबाट कुनै चालचुल भएन । त्यसपछि म्यासेज ‘रिमुभ’ गरिदिएँ ।

‘के डिलिट गरेको ?’ उनलाई शायद कौतूहल थियो ।

‘केही नाइँ !’

लेख्नु त  धेरै थियो तर लेखिनँ ‘वाइफाइ अन’ छोडेरै मस्तले निदाएँ ।

बिहान उठें । उनले साना-तिना  प्रश्नहरुको संग्रह नै पठाएकी रैछिन् । प्रत्येक प्रश्नको एक-एक गरी ‘रिप्लाई’ गरें ।

०००

हामी हरेक दिन बोल्न थाल्यौं । बिहान उठेदेखि राति ननिदाउन्जेलसम्म गन्थन-मन्थन भइरहन्थे । शायद हाम्रो सम्बन्धको बहिखातामा अनेकानेक विवरण भरिँदै गइरहेका थिए । ओहो ! हामी बोल्न थालेको पनि एक हप्ता भइसकेछ । छोटो समयमै  हामीबीच प्राय:नाटक, सपना, समाज, विभेद, दर्शन, परिवार अनि प्रेमका कुरा हुन्थे ।

शहर अँध्यारोमा लुप्त हुँदै थियो । नाटकघरबाट कोठा  फर्किसकेको थिएँ । शिरमा भएको ‘रेड क्याप’ खोलेर टेबलमा राखें । भित्तामा झुण्ड्याइएको ऐना हेरें । मुसुक्क हाँस्न मन लागेन । ऐनाले मेरो हविगत बताइरहेको थियो । उनलाई म्यासेन्जरमा भिडियो कल गरें ।

‘आबुई’ मलाई देखेर तर्सेजस्तो गरिन् या साँच्चिकै तर्सिन् !

‘के भो ?’ मैले टाउकोतिर हात लाउँदै सोधें ।

‘तपाईको कपाल कसरी झरेको ?’

‘झरेको होइन यार! जन्मजात यस्तै हो !’

‘कपाल झर्नेहरु भाग्यमानी हुन्छन रे !’

‘त्यै त, हे भगवान ! यत्ति भाग्यमानी नबनाऊ’

‘तथास्तु’

फोन आकस्मिक ‘डिसकनेक्ट’ भयो । ट्राई गरें, गएन । फेरि, फेरि ट्राई गरें । मेरो केही सीप चलेन । त्यसपछि नम्बरमा कल गरें, रिङ गयो तर फोन उठाउन केही समय लगाइन् ।

‘हेल्लो …उम्, भन्नु न’

उनले थोरै बोलिन् । नम्र भएर मैले भनें, ‘पर्सिबाट हाम्रो नाटक मञ्चन हुदैंछ ! भोलिचाहिँ ग्राण्ड रिहर्सल हो ।’

‘अनि ?’

मलाई यति थाहा छ कि म सबैभन्दा अगाडि आफूले आफैंलाई क्रुरताको हम्मरले हानेर मार्न सक्छु र त्यसपछि तिमीलाई…। लेखेर पठाइदिएँ । शायद ममाथि नाटकको पात्र हाबी हुँदै थियो ।

उनले मन नलागीनलागी बोलिन क्यारे !

‘म एक दुई दिन थिएटरमै व्यस्त रहन्छु’,  मैले भने ।

‘व्यस्त हुनु राम्रो हो नि’,   उनको जवाफ थियो ।

‘हैन, मैले योपालि क्यारेक्टरमा काम गर्न सकिरा छैन’, खिन्न भएर म बोलें ।

‘कस्तो  क्यारेक्टर पोट्रे गर्दै हुनुहुन्छ ?’ उनले सोधिन् ।

‘नाटक हेरेपछि थाहा भैहाल्छ नि’ मलाई आफ्नो चरित्रबारे बोल्नै मन लागेन ।

‘नाटक गर्नेहरुको नाटकै बढी ?’

यो कस्तो शाब्दिक उपेक्षा, उफ…! मलाई ‘अन्प्रेडिक्टेबल’ लागिन् उनी ।

त्यैपनि सौहार्दताका साथ मैले निम्तो दिएँ ।

‘नाटक हेर्न चाहिँ आउनु ल’ ।

‘हेरम’

उनको लघुशब्द वा लघुवाक्यपछि मैले भनें, ‘हस् म अहिलेलाई राख्छु ल । नाटकपछि अलि फ्री भइन्छ । अनि मज्जाले बोलौंला ।’

‘ओके’ उनले भनिन् ।

मैले युट्युबबाट भक्तराज आचार्यको गीत बजाएँ- हजार सपनाहरुको माया लागेर आउँछ

एक्कासी ढोकामा ढकढक आवाज सुनियो ।

‘को हो ?’  भित्रैबाट म कराएँ ।

‘दाइ म पल्लो कोठामा बस्ने निर्मल भाइ बोल्यो ।

‘कलाकारहरु यस्तै हुदाँ रै’छन्’ ।मैले ढोका खोलें । निर्मलले खाना रुममै ल्याइदियो । म फ्रेस भएर  खाना खान थालें । भक्तराजले गीत गाइरहेका थिए । म्यासेन्जको घन्टी बज्यो । एकोहोरो म्यासेजको घन्टीले गीतलाई ओझेल पारिरहेको थियो । थाल टेबलमा राखें । हात धोएँ । सिरानीमा अडेस लाएर मोबाइल समातें ।

प्रश्नहरुमाथि एकोहोरो प्रश्न । उफ…!

‘कस्तो ?’ मैले प्रश्न गरे ।

‘यस्तो’ उनले पठाइन ।

‘यस्तो भनेको कस्तो ?’

‘जस्तो तपाईं हुनुहुन्छ’

‘म कस्तो छु ?’

‘मन लाको बेला बोल्ने नत्र नबोल्ने’

‘त्यो त मानवीय स्वाभाव हो नि’ मन नलागी नलागी पठाएँ ।

‘त्यै भएर साइको लाग्छ’

‘को ?’ मैले लेखें ।

‘तपाईं’

‘साइको फिल्म हेरेकी छौ ? हिच्ककको ?’ मैले सोधें ।

‘हेर्दिन म फिलिम सिलिम’ मेरो प्रश्नले शायद हिजो लागेछ ।

‘किन ? ‘मैले यत्ति भने ।

 

उनको उत्तर आएन । त्यसपछि मैले फोन अफ गरें । ओहो ! भात त हिउँ भइसकेछ । टेबलमा भएको नाटकको स्क्रिप्ट समातें। आफ्नो पात्रमा हराउन थालें ।

०००

‘ओए साइको आजबाट नाटक शुरु हैन त ?’ एकदिनको अन्तरालमा उनको म्यासेज आयो । तर, एकाबिहानै उनको क्लिसे म्यासेज देखेर एकतमासले रिस उठ्यो ।

‘मसँग यस्ता ‘तड्या’ कुरा गर्दै नगर ।’

‘के हो यो ‘तड्या’ भनेको?’  उनले आज निहुँ खोजिरहेकी थिइन् ।

‘जे सुकै होस्’

‘अर्थ नै भेटिन मैले त’ उनले शायद ‘डिक्सनेरी’ हेर्न भ्याइसकिछिन् ।

‘सबै कुराको अर्थ नभेटिन सक्छ’

‘कस्तो तड्या मान्छे तपाई त’ मेरै शब्दले मलाई नै प्रहार गरिन् ।

उनले जिब्रो निकालेको ठूलो इमोजी पनि सँगै पठाइन् । मलाई भने झनझन् रिस उठ्न थाल्यो ।

मैले क्लिष्टताको साथ यस्तो लेखेर पठाइदिएँ ।

‘मनचिन्ते, घुमन्ते, फिरन्ते, मगन्ते, कल्पित, कपोकल्पित, अर्धकल्पित, मनोकल्पित, बकुम्फुसे, पढन्ते, मनगढन्ते कुराहरू मसँग गर्दै नगर ।’

‘किन ?’ उनको उत्तर आयो ।

‘किनकी म साइको हुँ । साइको…। मभित्र तीक्ष्ण विचारहरूले आक्रमण गरिसकेका थिए ।

‘छ्या ?’  उनले एक शब्द मात्र पठाइन् ।

मैले हातका औंलाहरुलाई रोक्न सकिनँ

‘के को छ्या… मलाई थाहा छ कि तिमी अर्डिनरी मान्छे हौ र म एक्स्ट्रा अर्डिनरी । मलाई यति थाहा छ कि म सबैभन्दा अगाडि आफूले आफैलाई क्रुरताको हम्मरले हानेर मार्न सक्छु र त्यसपछि तिमीलाई…।’ लेखेर पठाइदिएँ ।

शायद ममाथि नाटकको पात्र हाबी हुँदै थियो ।

‘औकात देखाउनु भो हैन…छ्या… यस्ता साइकोप्याथिकसँग मलाई बोल्नु छैन ।’ उनले दिक्दारिताका साथ कडा प्रतिक्रिया दिइन् ।

‘एस ! आईएम साइकोप्याथिक पर्सन, इभर बर्न अन दिस प्लानेट विथ कम्लिकेटेट माइन्ड’ लेखेर पठाएँ तर म्यासेज गएन ।

म्यासेन्जरको सेतो स्क्रिनमा, खरानी अक्षरले लेखिएको थियो- ‘दिस पर्सन इज अनअभाइलेबल अन म्यासेन्जर ।’


Source: OnlineKhabar